September 18, 2024

कथा : फूल पसल अनि अध्याँरो क्याबिनमा || सुरञ्जन घिमिरे : Nepali Love Story

फूल पसल
त्यसपछि म बेहोस भएँछु । ब्यूँझिदा आफूलाई मैले उही फूल पसलमा पाएँ । पूरै दुब्लाएको शरीरबाट जवानीको त्यो छाँट र छनक खै कता उडिसकेछ । म त इन्जिन बिग्रिएको थोत्रे बस जस्तै पो भइसकेँछु ।

मेरो हुलिया देखेर मान्छेहरू मलाई अर्धपागल ठान्दा हुन् । तर म एक स्वस्थ युवती हुँ । नभए पनि महिला त अवश्य हुँ । धेरै वर्ष पहिले यसै सहरमा कसैले प्रेमको तुच्छ जाल मतिर फ्याँक्यो । म त्यसमा अन्जानमै बेरिनँ पुगेँ । बाध्यतावस अहिले म दह्रो सुरक्षा घेरा भएको एक फूल पसलमा काम गर्दैछु । कुनै विशेष उपलक्ष्यमा जो-कोही पनि यहाँ फूलका सुन्दर गुच्छा र विभिन्न उपहारहरू किन्न आउँछन् ।

सबै उपलक्ष्य र सबैवर्गसँग मलाई कुनै परवाह छैन तर प्रेम दिवसका दिन जव कोही नवयुवक फूल किन्न यहाँ आउँछ तत्क्षण मेरो शरीरमा कुनै राक्षसको आत्मा प्रवेश गर्छ । मलाई त्यसको भर्खरै आउँदै गरेको जुँगा,छाँटसँग पहिरिएको पहिरन,मिलाएर कोरेको कपाल सबै-सबै जगाटेर,च्यातचुत पारेर फाल्दिउँ जस्तो लाग्छ । मलाई त्यस्ता अवसरवादी युवाहरू हिंस्रक लाग्छन् ।

आफ्नो सिकारको नाममा निरीह जन्तुको एकमुठी प्राण लिन पाउँदा खुसी हुने चितुवाझैं । यस्ता संसार विनासी युवाहरू यति सुन्दर फूल, यस्तो प्रेमिल दिनमा के प्रयोजन र कसका लागि किन्छन् । मलाई पटक्कै थाहा छैन । भन्न त उनीहरू ‘प्रेमिकाका लागि’ भन्छन् ।

तर जिब्रो मात्रैबाट उच्चारण भएका तिनका शब्दहरू म प्रष्टसँग बुझ्नसक्छु । अघि भर्खरै मात्र एउटा युवालाई जगाटजुगुट पारिदिएँ । ऊ मलाई पागल,बोक्सी,कुरूप र अलच्छिन आइमाई भन्दै चोरझैं कुलेलाम ठोक्यो । उसको त्यो भगाइ मैले धेरै बेरसम्म नियालेर हेरिरहे । गजब लाग्यो ।

अध्याँरो क्याबिन
कहिलेकाहीँ उसले बाइकमा ल्याइदिन्थ्यो । धेरै जसो त म साथीहरूसँगै जान्थेँ । नौलो सहरको त्यो कलेज मलाई बिरानु लाग्न छोडिसकेको थियो । कारण,उसको अटुट विश्वास । उसँग भेट चाहिँ एकदिन फिल्महलमा भएकोथ्यो । इन्टर्भलको सानो ब्रेकमा पपकर्न किन्न बाल्कोनीबाट तलतिरको प्लेटफर्ममा ओर्लिएकोथ्यो । त्यहाँ हामी तीनवटी केटी चिसो पिइरहेकाथ्यौं ।

उसैले केही बहाना बनाएर हामीसँग बोल्यो । उसले नीलो जिन्सको ज्याकेट र पाइन्ट अनि कन्भर्सको कालो जुत्ता लगाएकोथ्यो । सायद ऊ गुटखा खाँदो हो, दाँतका च्यापहरू निख्खर काला देखिन्थे । र, देखिन्थे-चुरोट खाएर बनेका औसतभन्दा काला ओठहरू । उसको कपाल कोराइको तरिकाले एउटा अभ्यस्त आकार लिइसकेको देखिन्थ्यो ।

यद्यपि, केसहरू फुस्रा देखिन्थे । खै कसरी हो त्यहीँ हामी तीनजनाको आपसी संवादबाट उसले हाम्रो कलेज पत्ता लगाएछ । भोली बिहान त ऊ कलेजको गेटैमा पो आइपुगेकोथ्यो । कत्ति आँटिलो मान्छे । ‘हाई,के छ खबर म के त हिजो फिल्महलमा भेटभाथ्यो नि’ उसले साइड स्टेन लगाएको बाइकमा ढल्किँदै भन्यो । कलेजका साथीहरूको भिडमा उसको हुलिया र हाउभाउ एकदमै फरक किसिमको देखिएकाले मलाई ऊसँग बोल्न अफ्ट्यारो लाग्यो । अरू दुईवटी पनि केही बोलेनन् । हामी सरासर कलेज गेटभित्र पस्यौं ।
त्यसको केही हप्तापछि उसले मलाई फोन गर्‍यो । मैले,‘नम्बर काँबाट पायौ ?’ भनी सोध्दा उसले एउटा खत्रै किसिमको डाइलग मारेकोथ्यो । हामी कलेजमा पनि कुनै नयाँ साथीले फोन गर्दा उही डाइलग मार्‍थ्यौं । सुरु-सुरुमा उसलाई मैले कत्ति पनि ध्यानै दिइँन । अलिक पछि फोनमा केही कुराहरू हुन्थे । कारण,ऊ मेरा बिजनेस र एकाउन्टका प्रोब्लम्सहरू सल्भ गरिदिन्थ्यो ।

ऊ पनि त्यही सहरको कुनै कलेज पढ्ने बताउथ्यो तर मैले उसको हुलियामा विद्यार्थीको कुनै चिह्न भेट्टाउन सक्दिनथेँ । तरै पनि उसले मिलाई दिएका लामा-लामा हिसाबहरूले मेरो हृदयमा ऊप्रति यावत तुच्छ शंका नगर्न बाध्य पारिदिन्थ्यो । उसलाई विश्वास गर्नमा उसका अरू पनि सकारात्मक पक्षहरू थिए, जसले मेरो परीक्षामा कुनै दिन पनि ऊ फेल भएन । समयक्रमसँगै उसले मलाई बाइकमा कलेजसम्म पुर्‍याईदिन थाल्यो । मैले संकोच मानिनँ ।

केही महिनापछि (सम्झना भएसम्म त्यो दिन सायद प्रेम दिवस थियो) को एउटा बिहान मलाई उसले फोन गरेर आज यसै सहरको कुनै शानदार र सुन्दर रेष्टरेन्टमा सँगै खाना खान अनुरोध गर्‍यो । यसमा मैले सहमति जनाएँ । एकछिनमा ऊ बाइक लिएर हाम्रो डेरा अघिल्तिर आएर हर्न बजायो । दुई साथीहरूलाई,‘एक्कै छिन है, म आइहाल्छु’ भन्दै उसका साथ लागेँ । बाटाभरि हाम्रो केही संवाद भएन । केहीबेरमा उसले एउटा भव्य मलअगाडि घ्याच्च बाइक रोक्यो । बन्दुकसहित दुईटा गार्ड उभिएका कालो सिसाको ढोकाबाट ऊ सिधै भित्र छिर्‍यो । म उसका पछि लागेँ ।

विभिन्न प्रकारका सुन्दर फूल,मनमोहक एक्युरियम, शालीन चित्रहरू अनि अरू उपहार पाइने पसल पनि रेष्टुरेन्टसँगै जोडिएको थियो । ती सुन्दर फूलका गुच्छाहरू कतै उसले मलाई उपहार दिने त होइन  सोच्दै,पुलकित हुँदै ती चिजबिजलाई पृष्ठभूमि पार्दै म उसका पछि लागिरहेँ । केहीबेरमै उसले पुर्‍यायो,रेष्टुरेन्टको एक अध्याँरो कुनामा । अर्थात्, मन्द प्रकाश भएको एउटा क्याबिनमा । यदि ऊ मसँगै बस्न चाहन्थ्यो भने यस सहरमा सुन्दर बगैँचा,रमाइला ताल र मनमोहक हिमालहरू पनि होलान् ।

उसले मलाई आफ्नो सामीप्यता दिन किन एउटा अध्याँरो कोठाको सहारा लिँदै छ ? कतै उसको नियतमा खोट त छैन ?  ऊप्रति त्यसदिसम्म नलागेको शंका त्यसै क्षण लाग्यो । तत्कालै क्याबिनको पर्दा एसो तह लगाउँदै वेटरले मेनु लिस्ट ल्यायो ।

खै के-के परिकारमा उसले रेजा लगायो । वेटर गयो । र,तुरुन्तै केही खानेकुराहरू हाम्रा टेबलमा राखेर गयो । मैले त्यस्ता खानेकुराहरू आजसम्म देखेकै रहिनछु । खानाबाट कस्तो अलग्गै प्रकारको बास्‍ना आइरहेको थियो । मैले उसले खाएको हेर्दै खानाको पहिलो गाँस लिएँ । जिउ फत्रक्क गलेजस्तो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *